पैसा होइन, बास चाहियो : सुकुमवासीको पीडा– हामी न घरका भयौं, न घाटको


काठमाडौं । वर्षौंदेखि एउटा सुरक्षित छानोको सपना बोकेर बसेका सुकुमवासीहरू अहिले पनि आफ्नै देशमा बासको खोजीमा भौतारिइरहेका छन्। उनीहरूको एउटै आग्रह छ— “हामीलाई पैसा होइन, बस्नका लागि एउटा सुरक्षित ठाउँ चाहियो।

विस्थापित सुकुमवासी सीताले सरकारबाट दिइने राहत रकमले आफ्नो भविष्य नबन्ने बताउँदै स्थायी बसोबास नै आफूहरूको पहिलो र अन्तिम आवश्यकता भएको बताइन्।

२५ हजार र १५ हजारले के हुन्छ? २५ लाखले पनि आज एक टुक्रा जग्गा पाइँदैन। हामीलाई पैसा होइन, बस्ने ठाउँ चाहिएको हो, उनले भावुक हुँदै भनिन्।

उनको आवाजमा वर्षौंको पीडा मिसिएको थियो। “सुन्ने मान्छे कता हरायो? हामीलाई अलपत्र बनाइयो। न घरका भयौं, न घाटका। दिन बितिरहेको छ, तर हाम्रो भविष्य अझै अन्योलमै छ, उनले गुनासो पोखिन्।

सीता भन्छिन्, राहतका नाममा दिइने केही हजार रुपैयाँले घाउमा मल्हम त लगाउन सक्छ, तर घर गुमाएकाहरूको जीवन पुनःनिर्माण गर्न सक्दैन। उनीहरूलाई चाहिएको दया होइन, सुरक्षित र सम्मानजनक बसोबासको अधिकार हो।

सुकुमवासीहरूको माग स्पष्ट छ— नगद राहतभन्दा दीर्घकालीन समाधान। उनीहरू सरकारसँग एक टुक्रा सुरक्षित जग्गा र सम्मानपूर्वक बाँच्न पाउने आधारको अपेक्षा गरिरहेका छन्। अहिले उनीहरूको एउटै प्रश्न छ- हाम्रो आवाज कहिले सुनिन्छ ?