विराटनगर । सुनसरीमा दुई पक्षबीच भएको झडपपछि जिल्ला प्रशासन कार्यालयले पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार हरिनगरा बजार, भुटाहा बजार, कप्तानगञ्ज बजार, घुस्की बजार र देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो।
प्रशासनले कर्फ्यु आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम जरिवाना तथा कैद सजाय हुन सक्ने चेतावनी दिएको छ।
हरिनगरा बजार क्षेत्रमा पूर्वमा नुनिया टोल, पश्चिममा खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा बसन्तपुर मोडसम्मको क्षेत्रलाई कर्फ्यु क्षेत्र तोकिएको छ। अन्य चार क्षेत्रमा पनि प्रशासनले चार किल्ला निर्धारण गरी कर्फ्यु लागू गरेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम गर्न प्रशासनलाई सहयोग गर्न आग्रह गरेको छ।



















प्रतिक्रिया