काठमाडौं । नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज (सोमबार) औपचारिक रूपमा उद्घाटन गरिँदै छ। करिब ८० महिनापछि निर्माण सम्पन्न भएको यो सुरुङमार्गलाई नेपालको यातायात पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

उद्घाटन कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षसहित उच्च अधिकारीहरूको सहभागिता रहनेछ।

आयोजनाका अनुसार उद्घाटनपछि सुरुङमार्ग सबै सवारीसाधनका लागि तत्काल खुला गरिने छैन। प्रारम्भिक तीन महिनाको ‘ट्रायल ओपनिङ पिरियड’ मा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सञ्चालनको अनुमति दिइनेछ। परीक्षण सफल भएपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइने योजना रहेको छ।

परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने जनाइएको छ। नियमित सञ्चालन सुरु भएपछि भने सवारीसाधनको प्रकारअनुसार शुल्क लागू गरिनेछ।


















प्रतिक्रिया