वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसको आकस्मिक बैठक, भोलि अन्तिम श्रद्धाञ्जली


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्दै पार्टीले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

पार्टीका अनुसार शोक प्रस्ताव पारित गर्न साउन १३ गते बिहान ८ः३० बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्नेछ। बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।

वरिष्ठ नेता श्रेष्ठको ललितपुरस्थित हेलिस अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो।

उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पणका लागि साउन १३ गते बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिनेछ। त्यसपछि पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको छ।

यो जानकारी नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएका हुन्।