नेपाललाई ठूलो क्षति: ब्रोड पिक दुर्घटनामा निम्सदाइसहित सबै पर्वतारोहीको निधन


काठमाडौं । पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जा को निधन भएको छ। सोही दुर्घटनामा आरोहण दलका अन्य सदस्यहरूले पनि ज्यान गुमाएका छन्।

निर्मल पुर्जा नेतृत्वको आरोहण कम्पनी एलाइट एक्स्पेड ले शनिबार शोक वक्तव्य जारी गर्दै दुर्घटनामा पुर्जासँगै उनका सहकर्मी तथा अनुभवी गाइड पुरबहादुर गुरुङ (युक्ता)निमा शेर्पा लगायत टोलीका सदस्यहरूको पनि निधन भएको पुष्टि गरेको हो।

कम्पनीले जारी गरेको वक्तव्यमा भनिएको छ, “आज हामीले निम्सलाई मात्र नभई यस त्रासदीमा ज्यान गुमाउने हाम्रा विश्वासिला आरोहण साथीहरू र गाइडहरू पुरबहादुर गुरुङ (युक्ता), निमा शेर्पालगायत सबैलाई गुमाएका छौँ। यस अकल्पनीय क्षतिमा शोकसन्तप्त परिवारजन र आफन्तहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।”

बिहीबार बिहान करिब ९ बजेतिर पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोहण टोली सम्पर्कविहीन भएको थियो। त्यसपछि गरिएको खोजी तथा उद्धार प्रयासका बीच शनिबार कम्पनीले उनीहरूको निधन भएको आधिकारिक पुष्टि गरेको हो।

निर्मल ‘निम्सदाइ’ पुर्जा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल सबैभन्दा छोटो समयमै आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने नेपाली पर्वतारोहीका रूपमा परिचित थिए। उनको निधनले नेपाल मात्र होइन, विश्व पर्वतारोहण समुदायलाई नै गहिरो शोकमा डुबाएको छ।