सप्तरी । प्रतिनिधि सभा सदस्य डा. अङ्किता ठाकुरको अगुवाइमा सप्तरीमा आइतबार अन्तरधार्मिक सद्भाव, सामाजिक एकता र शान्तिको सन्देश दिँदै सद्भाव र्याली निकालिएको छ।
र्यालीमा विभिन्न समुदाय, स्थानीय नागरिक, सामाजिक अगुवा तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा नाराबाजी गर्दै आपसी सम्मान र भाइचाराको सन्देश दिएका थिए।

र्यालीका क्रममा “अल्लाह भनौँ वा ईश्वर, रगतको रङ एउटै हुन्छ। मन्दिर जाऔँ वा मस्जिद, मानवताको धर्म एउटै हुन्छ।” भन्ने सन्देश प्रवाह गरिएको थियो। साथै, “न हिन्दु खतरामा छन्, न मुस्लिम। यदि केही खतरामा छ भने त्यो हाम्रो समाजको सद्भाव हो।” भन्ने धारणा पनि व्यक्त गरिएको थियो।
सहभागीहरूले विविध धर्म, संस्कृति र समुदायबीचको आपसी सम्मान तथा सहअस्तित्व नै नेपालको पहिचान भएको उल्लेख गर्दै विभाजनभन्दा एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए। दसैंको टीका होस् वा ईदको सेवइँ, सबै चाडपर्वले नेपाली समाजलाई एकअर्कासँग जोड्ने काम गर्ने विश्वास व्यक्त गरिएको थियो।

यसअघि प्रशासन, समुदायका प्रतिनिधि तथा आन्दोलनरत पक्षबीच भएको संवाद र सहमतिले शान्तिपूर्ण वातावरण निर्माण गर्न सहयोग पुगेको भन्दै सहभागीहरूले संवाद र सहकार्यलाई नै दिगो शान्तिको आधारका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए।
सद्भाव र्यालीले सामाजिक एकता, धार्मिक सहिष्णुता र पारस्परिक विश्वासलाई थप मजबुत बनाउँदै समाजमा शान्ति, सद्भाव र भाइचाराको सन्देश प्रवाह गरेको आयोजकहरूले बताएका छन्।




















प्रतिक्रिया