नेपालगञ्जबाट ७५८.५५० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ


काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नेपालगञ्जले ७५८.५५० ग्राम ब्राउन सुगर (हेरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ।

ब्युरोका अनुसार भारतको बहराइचबाट ब्राउन सुगर खरिद गरी कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री–वितरण गर्दै आएको सूचनाका आधारमा साउन १९ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा नेपालगञ्ज–४ का ३० वर्षीय सुशील भण्डारी५५ वर्षीय अरुणकुमार जयसवाल रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ७५८ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर, एक थान डिजिटल तराजु, दुई थान मोबाइल, नेपाली रुपैयाँ १ लाख ८० हजारभारतीय रुपैयाँ २ लाख २४ हजार बरामद गरेको जनाएको छ।

पक्राउपछि अरुणकुमार जयसवालको घरमा खानतलासी गर्दा कोठामा दराजभित्र लुकाइराखिएको थप ४२५ ग्राम ब्राउन सुगर फेला परेको ब्युरोले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँके बुझाइएको छ।

ब्युरोका अनुसार अरुणकुमार जयसवाल यसअघि पनि २०७९ असार २४ गते २४ ग्राम ब्राउन सुगरसहित पक्राउ परी तीन वर्ष कैद सजाय भुक्तान गरिसकेको अभिलेख रहेको उल्लेख गरिएको छ।