प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्रीले दिए मधेशको पछिल्लो अवस्थाबारे ब्रिफिङ


काठमाडौं – प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच मंगलबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा तराई–मधेशको पछिल्लो सुरक्षा अवस्था, शान्ति–सुरक्षा र समसामयिक परिस्थितिबारे विस्तृत छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार गृहमन्त्री गुरुङले हालै मधेश क्षेत्रमा पुगेर गरेको स्थलगत अनुगमन र त्यहाँको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। सुनसरी घटनापछि विकसित सुरक्षा अवस्था, त्यसपछिका घटनाक्रम तथा स्थिति सामान्य बनाउन सरकारले चालेका कदमबारे पनि प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको बताइएको छ।

भेटका क्रममा आगामी दिनमा अपनाइने सुरक्षा रणनीति, शान्ति–सुव्यवस्था कायम गर्ने उपाय तथा सम्भावित चुनौतीबारे पनि सामान्य छलफल भएको स्रोतको भनाइ छ।

गत साउन १० गते राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद झडपमा परिणत भएपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनामा घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो। घटनाको प्रभाव अन्य जिल्लासम्म फैलिँदा सिरहामा पनि गोली लागेर एक जनाको मृत्यु भएको थियो।

पछिल्लो अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेना समेत परिचालन गरिएको थियो। सोही घटनाक्रमपछि विकसित समग्र सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल भएको जनाइएको छ।