ग्यासमा कालोबजारी रोक्न गृहमन्त्री गुरुङको एक्सन, डिपो-डिपोमा सादा पोसाकका प्रहरी


काठमाडौं – खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि गृहमन्त्री सुदन गुरुङको निर्देशनमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।

गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानैदेखि ग्यास डिपो तथा बिक्री केन्द्रमा प्रहरी परिचालन गरी मौज्दात, बिक्री वितरण र मूल्यबारे निगरानी तथा अनुगमन सुरु गरिएको हो।

भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई महँगो मूल्यमा ग्यास बिक्री भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त भएका थिए। त्यसपछि उद्योगमन्त्री गौरी यादवले ग्यासको आपूर्ति तथा बजार अवस्थाबारे चासो लिनुभएको थियो।

आपूर्ति सहज हुँदाहुँदै ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री गुरुङसँग प्रहरी परिचालन गरी अनुगमन गर्न आग्रह गर्नुभएको थियो।

मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिनुभएको हो। सोही निर्देशनअनुसार उपत्यकाका विभिन्न डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।

अनुगमनका क्रममा ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारबाही गरिने बताइएको छ।

उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी विस्तार गरिने मन्त्रालयले जनाएको छ।

सरकारले ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिने तथा महँगो मूल्यमा बिक्री गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ। कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई थप कडाइ गर्ने सरकारको तयारी छ।