म जंगलमा हराएँ, बचाइदिनुस्’ भन्दै फोन गरेका पूर्वमेयर सिंह तीन दिनपछि मृत फेला


काठमाडौं – तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला परेका छन्।

६५ वर्षीय सिंहको शव आइतबार जिल्लाको गोरुसिंगे जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिएका छन्।

सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए। त्यसपछि परिवार तथा आफन्त उनको खोजीमा जुटेका थिए।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा सिंहले प्रयोग गर्ने लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो।

यसअघि सिंहले आफू जंगलमा हराएको भन्दै फोनमार्फत ‘म जंगलमा हराएँ, बचाइदिनुस्’ भनेर जानकारी गराएको बताइएको छ।

उनको खोजीका लागि गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो भने ड्रोनबाट समेत निगरानी भइरहेको थियो।

तीन दिनसम्म व्यापक खोजी गरेपछि आइतबार सिंहको शव जंगलमा फेला परेको हो। उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ।