मन्त्रीहरूमाथि रास्वपाको लगाम, महिनामा एकपटक अनिवार्य घन्टीघर हाजिर हुनुपर्ने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्रीहरूलाई नागरिकप्रति थप जवाफदेही बनाउने उद्देश्यले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

रास्वपाका अनुसार पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा प्रत्येक मन्त्री महिनामा कम्तीमा एकपटक दुई घण्टा अनिवार्य रूपमा उपस्थित भएर नागरिक र पार्टी नेतृत्वसँग प्रत्यक्ष संवादमा सहभागी हुनुपर्नेछ।

रास्वपा सहमहामन्त्री असिम शाहले लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु रहेको भन्दै जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्न कार्यक्रम अघि बढाइएको बताएका छन्।

कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा साँझ ५ देखि ६ बजेसम्म नागरिक संवाद हुनेछ। उक्त समयमा आमनागरिकले मन्त्रीसँग प्रत्यक्ष भेटेर आफ्ना गुनासा, समस्या, अपेक्षा र सुझाव राख्न सक्नेछन्।

त्यसपछि साँझ ६ देखि ७ बजेसम्म नेतृत्व संवाद सञ्चालन हुनेछ। यस चरणमा सम्बन्धित मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबीच बैठक हुनेछ। नागरिकबाट प्राप्त सुझाव तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा छलफल गरिने रास्वपाले जनाएको छ।

रास्वपाले कार्यक्रमका चार प्रमुख उद्देश्यसमेत सार्वजनिक गरेको छ। नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठनबीच समन्वय मजबुत बनाउने, मन्त्रीहरूलाई आमनागरिकप्रति प्रत्यक्ष जवाफदेही बनाउने, नागरिकका वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने तथा सरकार, संसदीय दल, केन्द्रीय समिति र नागरिकबीच सूचना तथा कार्ययोजनाको प्रभावकारी आदान–प्रदान गर्ने उद्देश्य राखिएको छ।

रास्वपाले यो कार्यक्रममार्फत ‘भुइँमान्छेका आवाज’लाई राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलका रूपमा विकास गर्ने दाबी गरेको छ।