१०० दिनमा १०० युवा स्वदेश फर्काउने रविको घोषणा कहाँ पुग्यो ? कांग्रेस नेता आङ्देम्बेको प्रश्न


काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोह र निर्वाचनबाट बनेको बालेन सरकारप्रति युवाको आशा बढे पनि सरकारका प्रतिबद्धता पूरा नभएपछि युवाहरू फेरि निराशातर्फ फर्किएको बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले सरकारको रोजगारी, सुशासन तथा विदेशिएका युवालाई स्वदेश फर्काउने नीतिमाथि प्रश्न उठाएका हुन्।

उनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनअघि सरकार बनेको १०० दिनभित्र १०० जना विदेशिएका नेपाली युवालाई निःशुल्क हवाई टिकटको व्यवस्था गरी स्वदेश फर्काउने घोषणा गरेको स्मरण गराए।

तर, सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि विदेशिएका युवालाई स्वदेश फर्काउने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै आङ्देम्बेले प्रश्न उठाएका छन्।

‘जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ? उनीहरूले चाहेको सुशासन कहाँ छ ? विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ ?’ उनले प्रश्न गरेका छन्।

आङ्देम्बेले युवालाई निर्वाचनमा मतदान गर्ने जमातका रूपमा मात्रै नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताएका छन्।

विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशमै परिचालन गर्न ‘रिटर्नी युवा उद्यमशीलता’ सम्बन्धी ठोस नीति आवश्यक रहेको उनको भनाइ छ।

यसैबीच, रवि लामिछानेले निर्वाचनअघि गरेको ‘१०० दिनमा १०० युवा स्वदेश फर्काउने’ घोषणा कार्यान्वयन नभएको विषयलाई प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारमाथि राजनीतिक दबाब बढाउने मुद्दाका रूपमा अघि सारेको देखिन्छ।