काठमाडौं । पूर्व प्रहरी कर्मचारी परिषद् नेपाल र काठमाडौं मेडिकल कलेज (केएमसी) तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच पूर्व प्रहरी कर्मचारी, आश्रित परिवार तथा द्वन्द्वपीडित परिवारलाई उपचारमा विशेष सहुलियत दिने सम्झौता भएको छ।
सम्झौताअनुसार द्वन्द्वकालमा अंगभंग भएका वा मृत्यु भएका पूर्व प्रहरीका परिवारले दुवाकोटस्थित केएमसी अस्पतालमा भर्ना भई उपचार गराउँदा अन्तरंग विभागका सबै सेवामा शतप्रतिशत छुट पाउनेछन्। यो सुविधा परिषद्को सिफारिसमा १०० जना सदस्यका परिवारलाई उपलब्ध गराइनेछ।

त्यस्तै, परिषद्मा आबद्ध अन्य पूर्व प्रहरी तथा आश्रित परिवारले दुवाकोटस्थित केएमसीमा ५० प्रतिशत, सिनामंगलस्थित केएमसीमा २५ प्रतिशत र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २० प्रतिशत छुट पाउनेछन्।
सम्झौताअनुसार पाँच जनासम्म द्वन्द्वपीडितलाई सिनामंगलस्थित केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध गराइनेछ।

आकस्मिक उपचारका लागि अस्पताल पुग्ने परिषद्का सदस्यलाई २४ घण्टासम्म क्रेडिटमा उपचार गरिने व्यवस्था गरिएको छ। त्यसका लागि २४ घण्टाभित्र परिषद्को सिफारिसपत्र अस्पतालमा अनिवार्य पेस गर्नुपर्नेछ।
आईभीएफ, सीटीभीएस, कलेजो प्रत्यारोपण, क्याबिन, प्लास्टिक तथा कस्मेटिक सर्जरी, इम्प्लान्ट, सर्जिकल सामग्री र औषधिमा भने सम्झौताअनुसारको छुट लागू हुने छैन। सरकारी स्वास्थ्य बीमा तथा अन्य सरकारी उपचार सुविधा उपलब्ध भएमा त्यसको पूर्ण उपयोग गरेपछि मात्र सम्झौताअनुसारको सहुलियत लागू हुनेछ।

सम्झौता २०८३ साउन २९ गतेदेखि २०८४ असार मसान्तसम्म लागू हुनेछ। सम्झौतामा पूर्व प्रहरी कर्मचारी परिषद्का अध्यक्ष रमेशकुमार श्रेष्ठ र काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली कांग्रेसका नेता तथा केएमसी–नोबेलका सञ्चालक सुनील शर्माले द्वन्द्वपीडितका लागि आर्थिक अभाव उपचारमा बाधक नबनोस् भन्ने उद्देश्यले विशेष सुविधा ल्याइएको बताए। उनले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न सके प्रहरीसम्बन्धी स्वास्थ्य सेवाका धेरै समस्या समाधान गर्न सकिने धारणा पनि राखे।






















प्रतिक्रिया