काठमाडौं । प्रतिनिधि सभा सदस्य आशिका तामाङले सांसद खगेन्द्र सुनारको पक्षमा खुलेर धारणा सार्वजनिक गरेकी छन्।
संसदीय समितिको बैठकमा करोडौँ रुपैयाँको भ्रष्टाचारको विषय उठाउँदै सुनारले प्रश्न गरेपछि उनको बोल्ने शैली र भाषालाई लिएर आलोचना भइरहेका बेला तामाङले सुनारको बचाउ गरेकी हुन्।
फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै तामाङले भ्रष्टाचारको विषयमा प्रश्न गर्न पनि अनुमति चाहिने हो भन्दै प्रश्न गरेकी छन्। उनले सुनारले संसदीय समितिमा ‘यो के हो? कसरी भयो?’ भनेर प्रश्न गरेको भन्दै त्यसलाई लोकतान्त्रिक अभ्यासको रूपमा लिनुपर्ने बताएकी छन्।
उनले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदले करोडौँ रुपैयाँको सार्वजनिक रकमको हिसाब माग्न नपाउने हो भने कसले माग्ने भन्दै प्रश्न गरेकी छन्।
तामाङले सुनारले कुन टोनमा बोले र कुन शब्द प्रयोग गरे भन्ने बहसलाई मुख्य विषयबाट अन्यत्र लैजान नहुने बताएकी छन्। उनका अनुसार मुख्य विषय करोडौँ रुपैयाँको भ्रष्टाचार भएको हो कि होइन, उजुरी परेको हो कि होइन र त्यसबारे छानबिन भयो कि भएन भन्ने हो।
‘प्रश्न गर्ने सांसदको भाषा खोज्ने होइन, करोडौँको हिसाब खोज्ने हो,’ तामाङले लेखेकी छन्।
संसदीय बैठकमा बहस र चर्काचर्की हुनु अस्वाभाविक नभएको उल्लेख गर्दै उनले अमेरिका, जर्मनी र बेलायतलगायतका देशका संसदमा सांसदहरूले निर्भीक रूपमा आफ्ना आवाज उठाउने गरेको उदाहरणसमेत दिएकी छन्।
अलि ठूलो स्वरमा बोल्दैमा सांसदलाई ‘सोमत नभएको’ भन्न नहुने तामाङको भनाइ छ। उनले भ्रष्टाचारको विषय उठाउने सांसदको शैलीभन्दा सार्वजनिक रकमको हिसाब र त्यसबारे छानबिनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन्।





















प्रतिक्रिया