स्वास्थ्य प्रणाली सुधार र स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री कार्यालयमा वृहत छलफल


काठमाडौं । देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ बनाउने विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृहत छलफल भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगको उपचारमा एकरूपता ल्याउन जारी गरिएका मानक उपचार प्रोटोकल (STP) लाई स्वास्थ्य बीमासँग जोडेर प्रभावकारी रूपमा लागू गर्ने विषयमा छलफल भएको हो।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत क्युरेटिभ सेवा प्रभागका निर्देशक डा. पवनजंग रायमाझीसहित पेडियाट्रिक, न्युरोलोजी, कार्डियोलोजी, हेमोफिलिया, ओरल हेल्थ, ईएनटीलगायत १८ क्षेत्रका विशेषज्ञ चिकित्सक सहभागी थिए।

विशेषज्ञ चिकित्सकहरूले आ–आफ्नो क्षेत्रमा प्रयोग भइरहेका उपचार प्रोटोकलका सहज र चुनौतीपूर्ण पक्षबारे जानकारी दिँदै आवश्यक सुधारका लागि सुझाव दिएका थिए। विभिन्न विभाग तथा महाशाखाले छुट्टाछुट्टै प्रोटोकल बनाउँदा समन्वयको अभाव देखिएको भन्दै त्यसलाई समाधान गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।

डा. रायमाझीका अनुसार हाल आवश्यकताअनुसार १९ वटा प्रोटोकल तयार गरिएका छन्। तीमध्ये केही स्वीकृत भएर कार्यान्वयनमा आइसकेका छन् भने केही प्रक्रियामा छन्। कार्यान्वयनमा रहेका प्रोटोकललाई समेत समयअनुकूल परिमार्जन गरी एकरूपता कायम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

त्यस्तै, बिरामीको परीक्षणका क्रममा आवश्यकता नहुँदा पनि सीटी स्क्यान, एमआरआईलगायत महँगा परीक्षणका लागि प्रिस्क्रिप्सन दिने प्रवृत्तिलाई नियन्त्रण गर्न आवश्यकतामा आधारित परीक्षणसम्बन्धी स्पष्ट प्रोटोकल बनाउनुपर्ने विषयमा पनि छलफल भएको छ।

प्रोटोकलको प्रभावकारी प्रयोग र समयानुकूल परिमार्जनले अनावश्यक परीक्षण तथा महँगा औषधिको प्रयोग घटाउने, बिरामीको उपचार खर्च कम गर्ने र सरकारी कोषको दुरुपयोग रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट सरकारी स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन समेत सहज हुने विश्वास गरिएको छ।