आइतबार उपत्यकाका थप ७ केन्द्रबाट एलपी ग्यास बिक्री हुने


काठमाडौं । नेपाल आयल निगमले शनिबार काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री–वितरण गरेको छ।

निगमका अनुसार टेकु, चावहिल, कीर्तिपुर, बसुन्धरा र बबरमहलस्थित बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको हो। केही ब्रान्डका सिलिन्डर अपुग भएपछि समयमै उपस्थित भएका उपभोक्तालाई कुपनमार्फत भोलिपल्ट प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको छ।

यसैबीच, निगमले आइतबार उपत्यकाका थप सात बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्ताका लागि एलपी ग्यास बिक्री गर्ने जनाएको छ। ती केन्द्रबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सागर, मनु, श्रीकृष्ण, साईबाबा, श्रीमाया, ओम, लोकप्रिय, सूर्य र एसटीसीलगायत विभिन्न ब्रान्डका ग्यास बिक्री गरिनेछ।

निगमले एलपी ग्यासको आयात नियमित भइरहेको जनाएको छ। ग्यास बिक्री–वितरण सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित बिक्री गर्न पनि अनुरोध गरिएको छ।

ग्यास प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ।