काठमाडौं । पछिल्लो विवरणअनुसार देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। नुवाकोट, अछाम, झापा, तनहुँ र काठमाडौंमा भएका दुर्घटनामा पाँच जनाको ज्यान गएको हो।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बिहान करिब ६ः२५ बजे सडक किनारमा पार्किङ गरी राखिएको बसलाई खाली इभी भ्यानले ठक्कर दिँदा दुई सवारीसाधन सडकबाट करिब ३०/४० मिटर तल खसेका थिए। दुर्घटनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ बस्ने ४५ वर्षीया कृष्णमाया प्रजापति डंगोल र रामेछापको थाकदेवी गाउँपालिका–२ बस्ने ६५ वर्षीया उदयमाया खत्रीको उपचारका क्रममा मृत्यु भएको हो।
त्यस्तै, अछामको मंगलसेन नगरपालिका–५ मा बिहान करिब ११ः३० बजे अटो अनियन्त्रित भई सडकमा पल्टिँदा अटोमा सवार मंगलसेन नगरपालिका–३ लाछिमाना बस्ने ४८ वर्षीय नृप बोहरालाई गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा उपचारका क्रममा दिउँसो १ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
झापाको झापा गाउँपालिका–८ स्थित वडा कार्यालय अगाडिको हुलाकी सडकखण्डमा राति करिब १०ः२० बजे बालुवा बोकेको ना ६ ख ६४९० नम्बरको टिपरले बाटो क्रस गर्दै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक दमक नगरपालिका–३ बस्ने ६५ वर्षीय ईशानलाल गणेश गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित पृथ्वी राजमार्ग सडकखण्डमा राति करिब ८ बजे लु २ ख ४६४८ नम्बरको सडक छेउमा रोकी राखेको ट्रकमा आँबुखैरेनीतर्फ आउँदै गरेको ग २४ प ४८४० नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–१ सत्रसय बस्ने २४ वर्षीय आयान पन्त घाइते भएका थिए। उनलाई उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल पठाइएकोमा राति ११ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
यसैगरी, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ गणेशचोकस्थित मुख्य सडकखण्डमा राति करिब ११ः३५ बजे बूढानीलकण्ठबाट चक्रपथतर्फ जाँदै गरेको विद्युतीय ट्याक्सी र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक सिन्धुली फिक्कल गाउँपालिका–६ घर भई हाल काठमाडौं बूढानीलकण्ठ–३ नारायणस्थान बस्ने २५ वर्षीय तिलक तामाङ घाइते भएका थिए। उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएका तामाङको भदौ ३१ गते बिहान ६ः३० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।





















प्रतिक्रिया