काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेका बेला पनि सहकारी तथा लघुवित्त पीडितहरू राष्ट्रिय मानवअधिकार आयोग अगाडि धर्नामा बसेका छन्।
तीन दिनदेखि धर्नामा रहेका पीडितसँग सरकारले वार्ताका लागि औपचारिक पहल नगरेपछि उनीहरू वर्षामै भिजेर आन्दोलन गर्न बाध्य भएका हुन्। लगातार वर्षामा भिजेर धर्नामा बस्दा केही पीडितको स्वास्थ्यसमेत बिग्रिएको छ। बिरामी परेका केही पीडितलाई अस्पताल भर्ना गरिएको धर्नामा सहभागी एक पीडितले बताएका छन्।
आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने पीडितहरूले बताएका छन्।
यसैबीच वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला धर्नास्थलमा पुगेर आन्दोलनरत पीडितसँग प्रत्यक्ष संवाद गरेका छन्। उनले वर्षाको समेत परवाह नगरी धर्नामा बसेका पीडितहरूको अवस्था र उनीहरूका मागबारे जानकारी लिँदै सरकारसँग वार्ताका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
धमलाले पीडितहरूको समस्या संवाद र वार्तामार्फत समाधान गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। उनले आन्दोलनरत पीडितका माग सरकारसमक्ष पुर्याउँदै तत्काल वार्ताको वातावरण बनाउन पहल गर्ने बताएका छन्।





















प्रतिक्रिया