प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच आज भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठबीच आज भेटवार्ता हुँदैछ। उनीहरूबीच दिउँसो साढे २ बजे सिंहदरबारमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ।

चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका भारतीय स्थल सेना प्रमुख सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गरेका थिए।

भ्रमणका क्रममा उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग समेत द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटवार्तामा दुई देशबीचको सैन्य सहकार्य तथा आपसी सम्बन्धका विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री बालेन शाहले सरकारको नेतृत्व सम्हालेपछि नेपाल भ्रमणमा आउने भारतीय पक्षका उच्च अधिकारीमध्ये सेठलाई अहिलेसम्मकै वरिष्ठ अधिकारीका रूपमा हेरिएको छ। भारतबाट नेपालमा आफ्नो पहिलो विदेश भ्रमण सुरु गरेका सेठको भ्रमणलाई दुई देशबीचको सुरक्षा तथा सैन्य सम्बन्धका दृष्टिले अर्थपूर्ण मानिएको छ।

प्रधानमन्त्री शाहसँग भेटवार्तापछि भारतीय स्थल सेना प्रमुख सेठ बुधबार स्वदेश फर्किने कार्यक्रम छ।