गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा हजारौँ आमाको प्रदर्शन


काठमाडौं । तीन वर्षीया नाबालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै हजारौँ आमाहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागी आमाहरूले बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

हातमा विभिन्न नारासहितका प्लेकार्ड बोकेर माइतीघर पुगेका उनीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न, यौन हिंसा अन्त्य गर्न तथा यस्ता घटनामा संलग्नलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन माग गरेका छन्।

प्रदर्शनकारीहरूले ‘गरिमालाई न्याय देऊ’, ‘बालिकामाथिको हिंसा बन्द गर’, ‘दोषीलाई कडा कारबाही गर’ लगायतका नारा लगाउँदै राज्यको ध्यानाकर्षण गराएका छन्।

उनीहरूले गरिमाका लागि न्यायको मागसँगै देशभरका बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।