रसुवाका बाढीग्रस्त बस्तीमा सेनाको राहत सामग्री पुग्दै


काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि नेपाली सेनाले प्रभावित बस्तीमा राहत तथा उद्धार अभियान तीव्र बनाएको छ।

सेनाका अनुसार सबैभन्दा बढी प्रभावित टिमुरेमा बिहीबार बिहानसम्म चार सटल राहत सामग्री पुर्‍याइएको छ। नुवाकोटको त्रिशूलीमा ११ ट्रक राहत सामग्री पठाइएको र त्यहाँबाट हेलिकप्टरमार्फत रसुवा पुर्‍याउने तयारी गरिएको छ।

बिहीबार बिहानदेखि सेनाका पाँच हेलिकप्टर उद्धारमा परिचालन भएका छन्। मैलुङ टनेलबाट तीन र टिमुरेबाट १४ जनाको हवाई उद्धार गरिएको छ भने जमिनमार्फत ६३ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

हालसम्म सेनाले ११४ जनाको उद्धार गरिसकेको छ। नुवाकोटदेखि चितवनसम्म खोज तथा उद्धारका लागि दुई हजारभन्दा बढी सैनिक परिचालन गरिएको छ। सेनाका ११ टोलीले रातभर जमिनमार्फत उद्धार कार्य जारी राखेका थिए।