काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण लाइनमार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ।
प्राधिकरणका अनुसार खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या र विदुरलगायत क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति गरिएको हो।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइन तथा बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गर्ने काम भइरहेको छ। यी लाइन पनि आवश्यक प्राविधिक काम पूरा गरी सञ्चालनमा ल्याउने तयारी छ।
त्रिशूली क्षेत्रका केही स्थानमा धादिङको सल्यानटार सबस्टेसनबाट समेत वैकल्पिक रूपमा विद्युत् आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ।
बाढीबाट क्षतिग्रस्त विद्युत् संरचना मर्मत तथा सेवा नियमित गर्न काठमाडौं र आसपासबाट दक्ष प्राविधिक, उपकरण र स्रोतसाधनसहितका टोली नुवाकोट परिचालन गरिएको प्राधिकरणले जनाएको छ।






















प्रतिक्रिया