सहयोग गर्न चाहनुहुन्छ ? बाढीपीडितका लागि यी तीन ठाउँमा सम्पर्क गर्नुहोस्


काठमाडौँ । सरकारले भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री सङ्कलन गर्न तीन वटा सम्पर्क केन्द्र तोकेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाईमार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघरमा जम्मा गरिनेछ । त्यहाँ सङ्कलित सामग्री सरकारले आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा पठाउनेछ ।

त्यस्तै, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनीस्थित नेपाली सेनाको ब्यारेकमा पनि राहत सामग्री बुझाउन सकिनेछ ।

विमानस्थलको गोदामघरमा राहत सामग्री बुझाउन डब्लुएफपी प्रतिनिधि श्रद्धा भट्ट (९८४१८७९२२२), मैथिली ब्यारेकका लागि आविष्कार (९८५१२३४३२४) र बैरेनी ब्यारेकका लागि दिलीप घले (९८५११५४२२६) लाई सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।

साथै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि राहत सहयोग गर्न सकिनेछ । आर्थिक सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ ।