हुलाकमार्फत गाँजा कारोबार, ४ जना पक्राउ


काठमाडौँ । थाइल्यान्डबाट हुलाकमार्फत नेपाल पठाइएको गाँजा कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट भदौ ९ गते इटहरी पठाउन लागिएको पार्सल शङ्का लागेर जाँच गर्दा ९१० ग्राम थाइल्यान्डबाट आएको गाँजा बरामद भएको थियो ।

प्रहरीले उक्त पार्सललाई ‘कन्ट्रोल डेलिभरी’मार्फत इटहरी पठाएर लिन आएका धरानका १९ वर्षीया जेसिका तामाङ र २५ वर्षीया तारा मगरलाई पक्राउ गरेको हो । उनीहरूको डेराबाट थप १ किलो थाई गाँजा समेत बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, उनीहरूसँग गाँजा लिन भारतबाट आएका २४ वर्षीय सारोन सुनिल तिया र २२ वर्षीय अमल आरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकामाथि इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।