मेट्रोमा मोदी : यात्रुसँग घुलमिल, बालबालिका उत्साहित


काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार दिल्ली मेट्रोमा करिब २० मिनेट यात्रा गर्दा स्कुले बालबालिकादेखि अन्य यात्रुसँग आत्मीय कुराकानी गरेका छन् ।

येलो लाइनको मेट्रो चढेर दिल्ली विश्वविद्यालयस्थित ‘विश्वविद्यालय’ स्टेसन पुगेका मोदीले बालबालिकासँग हात मिलाउँदै उनीहरूको पढाइ, नाम र गन्तव्यबारे सोधेका थिए । उनले विद्यार्थीलाई खेलाडी, कलाकार तथा वैज्ञानिकका आत्मकथा र जीवनी पढ्नसमेत सुझाव दिए ।

मोदीलाई मेट्रोमै देखेपछि बालबालिका उत्साहित भएका थिए भने अन्य यात्रुले पनि उनीसँग सहज रूपमा कुराकानी गरेका थिए ।

मोदी दिल्ली विश्वविद्यालयमा आयोजित श्रीराम कलेज अफ कमर्सको शताब्दी समारोहमा सहभागी हुन मेट्रोबाट पुगेका हुन् । उनले यसअघि पनि विभिन्न अवसरमा दिल्ली मेट्रोमा यात्रा गरिसकेका छन् ।