कहाँ छन् सयौँ बेपत्ता? केरुङमा खोजीकार्य तीव्र


काठमाडौं । हिमपहिरोपछि आएको विनाशकारी बाढीले चीन–नेपाल सीमास्थित केरुङ नाका पूर्ण रूपमा ध्वस्त भएको छ। नाका अहिले ढुंगा, ग्राभेल, हिलो र भग्नावशेषले भरिएको छ भने उद्धारकर्मीहरूले बेपत्ताको खोजी जारी राखेका छन्।

चिनियाँ अधिकारीका अनुसार सीमा क्षेत्रमा ३१ जनाको मृत्यु पुष्टि भएको छ भने ५३१ जना अझै बेपत्ता छन्। बेपत्तामध्ये २५० भन्दा बढी विदेशी नागरिक रहेको बताइएको छ।

बाढीले सीमा जाँच केन्द्रसहित ट्राभल एजेन्सी, सुपरमार्केट र चीन–नेपाल जोड्ने पुलसमेत बगाएको छ। घटनास्थलमा ठूलो संख्यामा उद्धारकर्मी र भारी उपकरण परिचालन गरी भग्नावशेष तह–तहमा हटाएर खोजी भइरहेको छ।

उद्धारमा संलग्न अधिकारीहरूका अनुसार पहिरो र थप बाढीको जोखिमका कारण खोजी चुनौतीपूर्ण बनेको छ। अवरोध बनेका ताल फुट्न सक्ने जोखिम, भारी वर्षा र कठिन भौगोलिक अवस्थाले उद्धार कार्य प्रभावित भइरहेको छ।

बेपत्ताको यकिन विवरण र नामावली सार्वजनिक नहुँदा उनीहरूका परिवारमा थप अन्योल बढेको छ। अहिले उद्धार टोलीको मुख्य ध्यान भग्नावशेषभित्र बेपत्ताहरूको खोजी र सम्भावित शव फेला पार्नेतर्फ केन्द्रित छ।