३७ जिल्ला बाढीको जोखिममा, सतर्क रहन आग्रह


काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख तथा साना नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ।

महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकालीलगायतका जलाधारका नदीमा जलसतह उल्लेखनीय बढ्नेछ। कमला, बागमती, पूर्वी–पश्चिम राप्ती र बबईमा भने बहाव सामान्य रूपमा बढ्ने अनुमान छ।

सोमबार ३७ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। भोलि र पर्सि पनि सातै प्रदेशका केही साना नदीमा बहाव अचानक बढ्न सक्ने जनाइएको छ। साना नदीतर्फ सोमबार ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, झापा, मोरङ, खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर, दोलखा, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, सुर्खेत, दैलेख, अछाम, कालिकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीहरूमा बहाव उल्लेखनीय बढ्नेछ। 

यी नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। भोलि र पर्सि पनि सातै प्रदेश भई बहने केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान छ।