लागुऔषधविरुद्ध गृहको एक्सन, छुट्टै विभाग गठन


काठमाडौँ । गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि छुट्टै लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने निर्णय गरेको छ।

मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) संरचनामा विभाग थपिएको प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। विभागको महानिर्देशकमा ऋषिराम तिवारीलाई जिम्मेवारी दिइएको छ।

विभागमा १ सहसचिव, २ उपसचिव, ३ शाखा अधिकृत, ५ नायब सुब्बा र २ कम्प्युटर अपरेटको दरबन्दी स्वीकृत गरिएको छ।

यसअघि मन्त्रालयअन्तर्गत रहेको लागुऔषध नियन्त्रण शाखालाई विस्तार गरी विभाग बनाइएको हो। विभागले लागुऔषध नियन्त्रण, नीति निर्माण, अनुगमन, दुर्व्यसनीको उपचार तथा पुनर्स्थापना र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ।