दिल्लीमा पाँच तले भवनले निम्त्यायो ठूलो दुर्घटना, ७ को मृत्यु


नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा पाँच तले भवन भत्किँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ। घटनापछि फरार रहेका भवन मालिक हरिराम बंसललाई प्रहरीले राजस्थानको भिवाडीबाट पक्राउ गरेको छ।

दिल्लीको सत्य निकेतन क्षेत्रमा आइतबार दिउँसो भवन अचानक भत्किएको थियो। भवनमा पीजी तथा होस्टल सञ्चालन हुँदै आएको बताइएको छ।

उद्धार टोलीले भग्नावशेषबाट ७ जनाको शव निकाल्नुका साथै १२ जनालाई जीवितै उद्धार गरेको छ। उद्धार गरिएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

भग्नावशेषमा अझै केही व्यक्ति फसेको आशंकामा तालिमप्राप्त कुकुर र विशेष क्यामेराको प्रयोग गरी खोजी तथा उद्धार जारी राखिएको छ।