कृष्णभीरमा अवरुद्ध पृथ्वी राजमार्ग आंशिक रूपमा सञ्चालनमा


काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडकखण्ड आंशिक रूपमा सञ्चालनमा आएको छ।

दुईवटा बुलडोजर प्रयोग गरी सडक सम्याउने तथा सवारीसाधन सञ्चालनका लागि आवश्यक प्लेटफर्म निर्माण गर्ने काम सम्पन्न भएपछि केहीबेरअघिदेखि सडक आंशिक रूपमा सञ्चालनमा ल्याइएको हो।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार तत्कालका लागि यसअघि रोकिएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्रै आवागमनको अनुमति दिइएको छ।

भित्तातर्फ नाली निर्माणको काम भने बाँकी रहेकाले उक्त काम बिहीबारसम्म सम्पन्न गरी सडकलाई दुईतर्फी रूपमा पूर्ण सञ्चालनमा ल्याउने तयारी भइरहेको जैसीले जानकारी दिए।

यसअघि खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता तथा सवारी आवागमनको अवस्था परीक्षण गरिएको थियो।

गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरमा सडक कटान भएपछि उक्त सडकखण्ड अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौं आवतजावत गर्ने ठूला तथा साना सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए।

सडक आंशिक रूपमा सञ्चालनमा आएसँगै लामो समयदेखि प्रभावित हुँदै आएको पृथ्वी राजमार्गको यातायात केही सहज हुने अपेक्षा गरिएको छ।