रियाद आक्रमणपछि साउदी–हुथी तनाव थप बढ्ने अमेरिकाको चेतावनी


वासिङ्टन डीसी । यमनमा द्वन्द्व पुनः चर्किएपछि पहिलो पटक साउदी राजधानी रियादलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण भएको छ । घटनापछि साउदी अरब र इरानसमर्थित हुथीबीच द्वन्द्व थप तीव्र हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ ।

शनिबार बिहान रियादमा विस्फोटका आवाज सुनिएका थिए । विमानस्थलनजिकै साउदी तेल कम्पनी अरामकोको लोगो भएको इन्धन ट्याङ्कीमा आगलागी भएको एएफपीले जनाएको छ । साउदी नेतृत्वको गठबन्धनले हुथीले प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र रोकिएको र नष्ट गरिएको दाबी गरेको छ ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले भने साउदीविरुद्ध ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरी दुई सैन्य कारबाही गरिएको बताएका छन् । उनका अनुसार रियादका संवेदनशील स्थल र यान्बुस्थित अरामकोका संरचना लक्षित गरिएको थियो ।

आक्रमणपछि अमेरिकी विदेश मन्त्रालयले सैन्य द्वन्द्व थप बढ्न सक्ने भन्दै मध्यपूर्वबाहिर रहेका अमेरिकी नागरिकलाई क्षेत्रमा यात्रा नगर्न वा यात्रा योजनाबारे पुनर्विचार गर्न आग्रह गरेको छ । यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याम्प डेभिडको बसाइ छोट्याएर अप्रत्याशित रूपमा ह्वाइट हाउस फर्किएका छन् ।

अमेरिकाले साउदी अरबको सुरक्षा सहयोगका लागि ४८ वटा एफ–३५ लडाकु विमान बिक्री गर्न स्वीकृति दिएको पनि विदेश मन्त्रालयले जनाएको छ । यमनमा हुथी र साउदी नेतृत्वको गठबन्धनबीच लामो समयदेखि जारी द्वन्द्व पछिल्लो समय पुनः तीव्र बनेको छ ।