दक्षिण अफ्रिका । दक्षिण अफ्रिकी पत्रकार माइका रेड्डी जिबुटीबाट बेपत्ता भएका छन्। उनकी पत्नी निकोल बेअड्र्सवथले एएफपीसँग पत्रकार रेड्डी र उनका स्थानीय सहयोगी फिक्सर कुकी महमुद सम्पर्कविहीन भएको पुष्टि गरेकी छन्।
रेड्डी बिहीबार जिम्मेवारीका लागि जिबुटी पुगेका थिए। शनिबार दिउँसोसम्म उनी सहकर्मीहरूसँग सम्पर्कमा रहेको र त्यसपछि सञ्चार विच्छेद भएको परिवारले जनाएको छ। उनकी पत्नीका अनुसार जिबुटी पुगेको करिब चार घण्टापछि रेड्डीको फोन बन्द भएको थियो।
‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स’का अफ्रिकी समन्वयकसमेत रहेका रेड्डी बेपत्ता हुनुअघि राजधानीको एक होटलमा बसेका थिए। परिवारका अनुसार उनले अन्तिम सन्देशमा जिबुटीको चर्को गर्मीबारे उल्लेख गरेका थिए र कुनै डर वा जोखिमबारे बताएका थिएनन्।
घटनाबारे इन्टरपोल, बेलायती उच्च आयोग र दक्षिण अफ्रिकाको परराष्ट्र विभागलाई जानकारी गराइएको छ। ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स’ले जिबुटीका अधिकारीहरूलाई रेड्डी र महमुदको अवस्था तत्काल स्पष्ट गर्न तथा उनीहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।
यद्यपि, एएफपीले सम्पर्क गरेका जिबुटीका सरकारी अधिकारीले घटनाबारे आफूहरू अनभिज्ञ रहेको बताएका छन्। सत्तारूढ दलका एक वरिष्ठ सदस्यले पनि पत्रकार बेपत्ता भएको खबरलाई अस्वीकार गरेका छन्।



















प्रतिक्रिया