लमजुङ । बेलायतमा रहेको सामाजिक संस्था तमु धीं यूकेले नेपालमा बाढी तथा विपद्बाट प्रभावितका लागि १ करोड १ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
संस्थाका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा मंगलबार राति बसेको आकस्मिक कार्यसमिति बैठकले बाढीपीडितको राहतका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।
तमु धीं यूकेका अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिनेछ। संस्थाका पदाधिकारीको टोली नेपाल आएर सम्बन्धित निकायलाई सहयोग रकम हस्तान्तरण गर्ने तयारीसमेत गरिएको छ।
संस्थाका उपाध्यक्ष तथा १७औँ नेपाली मेलाका संयोजक कमल कोने गुरुङका अनुसार नेपाली मेलाबाट बचत हुने रकम, मेलाका क्रममा संकलित सहयोग तथा थप रकम जुटाएर सहयोग उपलब्ध गराइनेछ।
त्यस्तै, सेप्टेम्बर ११ देखि १३ तारिखसम्म हुने च्यारिटी ट्रेल वाकबाट संकलन हुने रकमसमेत बाढीपीडितको राहतमा प्रयोग गरिने भएको छ। च्यारिटी ट्रेल वाकका लागि शान्तकुमार गुरुङको संयोजकत्वमा कमल कोने गुरुङ, सल्लाहकार तर्कजङ गुरुङ र लक्षु गुरुङ सहभागी हुने जनाइएको छ।


















प्रतिक्रिया