काठमाडौँ । त्रिपुरेश्वरमा आफ्नै बसमा आगो लगाएका चालक २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्। आगलागीमा लामाको शरीरको करिब ९० प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन्।
कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख एवं वरिष्ठ कन्सल्टेन्ट प्लास्टिक सर्जन डा. विशाल कार्कीका अनुसार लामाको शरीरको ९० प्रतिशत भाग जलेको छ। उनको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन्। घाइते लामालाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो।
लामाले बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसमा आफैँ आगो लगाएको प्रारम्भिक विवरण छ। उनले किन बसमा आगो लगाए भन्ने कारण भने अहिलेसम्म स्पष्ट भएको छैन।
प्रहरीका अनुसार ट्राफिक प्रहरीसँग भएको विवादपछि आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। तर घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटना नयाँ भएकाले विस्तृत अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको बताएका छन्।



















प्रतिक्रिया