चिनियाँ राष्ट्रपति सी अमेरिका भ्रमणमा


वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङ तीनदिने राजकीय भ्रमणका लागि अमेरिका पुगेका छन् । उनको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार, कृत्रिम बौद्धिकता, दुर्लभ खनिज, इरान र ताइवानलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

सीलाई ट्रम्पले ज्वाइन्ट बेस एन्ड्र्युजमा पुगेर स्वागत गर्ने कार्यक्रम छ । एक दशकभन्दा बढी समयपछि हुन लागेको सीको पहिलो राजकीय अमेरिका भ्रमण भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

बिहीबार ह्वाइट हाउसमा सीको औपचारिक स्वागत, सैन्य सम्मान र राजकीय रात्रिभोज आयोजना हुनेछ । शुक्रबार सी र उनकी श्रीमती पेङ लियुआनले ट्रम्प दम्पतीसँग चिया भेट गर्ने तथा राष्ट्रिय अभिलेखालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

अमेरिका र चीनबीच व्यापारलगायत विषयमा मतभेद कायम रहे पनि दुई नेताबीचको भेटलाई द्विपक्षीय सम्बन्धमा संवाद अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।