फ्लाई दुबईको जहाज पहिलोपटक पोखरामा, ६ः१९ बजे गर्‍यो ल्याण्ड


पोखरा । फ्लाई दुबईले पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाज बुधबार साँझ ६ बजेर १९ मिनेटमा पोखरा विमानस्थलमा अवतरण गरेको हो।

जहाजमा १ सय २५ जना यात्रु पोखरा आएका छन्। फ्लाई दुबईका अनुसार विभिन्न देशबाट दुबई हुँदै ती यात्रु पोखरा आएका हुन्। जहाज पोखरा अवतरण गर्ने भएपछि स्वागतका लागि विमानस्थलमा व्यवसायी, पर्यटन क्षेत्रका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य भीड लागेको थियो।

पोखरा आएको जहाज करिब एक घण्टापछि पुनः दुबईका लागि उड्नेछ। पोखराबाट १ सय ५३ जना यात्रु दुबई जानेछन्। तीमध्ये केही बिजनेस क्लासका यात्रु रहेका छन्।

फ्लाई दुबईको जहाजमा कुल १ सय ६६ सिट क्षमता रहेको छ। जसमा १० वटा बिजनेस क्लास र १ सय ५६ वटा इकोनोमी क्लासका सिट रहेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक फ्लाई दुबईको जहाज अवतरण हुनुलाई पोखराको पर्यटन क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। पोखराका मेयर धनराज आचार्यले यसलाई पोखराका लागि महत्त्वपूर्ण कोशेढुंगा भएको बताएका छन्।

लामो समयको तयारीपछि फ्लाई दुबईले पोखराका लागि उडान तालिका बनाएको हो। पोखराका व्यवसायी तथा पर्यटन क्षेत्रका सरोकारवालाले नियमित अन्तर्राष्ट्रिय उडान हुन सके पोखराको पर्यटनमा थप टेवा पुग्ने अपेक्षा गरेका छन्।