नेपाली पाइलटले दुबईबाट उडाएर ल्याए फ्लाई दुबईको विमान पोखरा


पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गरेको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स ८ विमान नेपाली पाइलट सर्वजित यादवले उडाएर पोखरा ल्याएका हुन्।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको फ्लाई दुबईको विमान नेपाली पाइलट यादवको कमान्डमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गरेसँगै पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको दायरा थप विस्तार भएको छ।

पाइलट यादव सन् २०२२ देखि फ्लाई दुबईमा कार्यरत छन्। फ्लाई दुबईमा आबद्ध हुनुअघि उनले नेपालकै विभिन्न वायुसेवा कम्पनीमा काम गरिसकेका थिए। लामो समयदेखि उड्डयन क्षेत्रमा सक्रिय यादवले अहिले अन्तर्राष्ट्रिय उडानमा फ्लाई दुबईको विमान उडाउँदै आएका छन्।

फ्लाई दुबईको बोइङ ७३७ म्याक्स ८ विमान पोखरा ल्याउने जिम्मेवारी नेपाली पाइलट यादवले सम्हालेका हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक फ्लाई दुबईको विमान अवतरण हुँदा विमानस्थलमा उत्साहपूर्ण वातावरण देखिएको थियो।

दुबईबाट आएको विमानमा विभिन्न देशबाट दुबई हुँदै पोखरा आएका यात्रुहरू रहेका थिए। पोखरामा विमान अवतरण भएपछि विमानलाई पानीको फोहोराले स्वागत गरिएको थियो। विमानस्थलमा व्यवसायी, पर्यटन क्षेत्रका प्रतिनिधि तथा सर्वसाधारणको समेत उपस्थिति थियो।

फ्लाई दुबईको विमान पोखरा आएपछि सोही दिन पोखराबाट यात्रु लिएर दुबई फर्किनेछ। यससँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईसँगको नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्क सुरु भएको छ।

पोखराका पर्यटन व्यवसायीहरूले अन्तर्राष्ट्रिय उडान विस्तारलाई पोखराको पर्यटन क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। दुबई हुँदै विभिन्न देशबाट पर्यटक तथा यात्रुहरूलाई पोखरासम्म प्रत्यक्ष हवाई सम्पर्कमार्फत ल्याउन सकिने भएकाले यसले पर्यटन गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय नियमित उडानको विषय लामो समयदेखि चर्चामा रहँदै आएको थियो। फ्लाई दुबईले नियमित उडान सुरु गरेसँगै पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यसँगको हवाई सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ।