परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी उपप्रधानमन्त्री दारबीच भेट, द्विपक्षीय विषयमा छलफल


काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सिनेटर मोहम्मद इशाक दारबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटवार्तामा नेपाल र पाकिस्तानबीच रहँदै आएको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका विविध पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवै पक्षले नेपाल–पाकिस्तान सम्बन्धलाई आगामी दिनमा थप सुदृढ गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। द्विपक्षीयसँगै बहुपक्षीय तहमा समेत सहयोगलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

विशेषगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) तथा संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा नेपाल र पाकिस्तानबीचको सहकार्यलाई थप मजबुत बनाउने विषयमा दुवै परराष्ट्रमन्त्रीले जोड दिएका छन्।