भारी वर्षालाई लिएर स्वास्थ्य मन्त्रालयको अपिल : उच्च सतर्कता अपनाऔँ


काठमाडौँ । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्जन्य अवस्था आउन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनालाई आधार बनाउँदै मन्त्रालयले प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान र संघीय अस्पताललाई सम्भावित जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि आवश्यक तयारी गर्न आग्रह गरेको हो।

मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार सम्पर्कमा रहने व्यवस्था मिलाउन भनेको छ। विपद् आइपरे तत्काल परिचालन गर्न सकिने गरी जनशक्ति, स्वास्थ्य सामग्री तथा आवश्यक व्यवस्थापनमा पूर्वतयारी गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

त्यस्तै, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्को सूचना तथा स्वास्थ्यसम्बन्धी प्रतिकार्यलाई प्रभावकारी बनाउन मन्त्रालयले आग्रह गरेको छ।

सम्भावित बाढी, पहिरो र डुबानबाट स्वास्थ्य क्षेत्रमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै सम्बन्धित निकायबीच आवश्यक समन्वय र तयारीलाई प्राथमिकता दिन मन्त्रालयले भनेको छ।