पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ नेता बनाउने एमालेको तयारी


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको वरिष्ठ नेता बनाउने प्रस्ताव गरिएको छ।

एमाले केन्द्रीय सचिवालयको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो।

सचिवालयले गरेको उक्त प्रस्ताव अब केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गर्ने तयारी गरिएको छ। प्रस्ताव अनुमोदन भएमा भण्डारी एमालेको वरिष्ठ नेताको भूमिकामा रहनेछिन्।

यसअघि २०८३ जेठ ३ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले भण्डारीको पार्टी सदस्यता खुलाउने निर्णय गरेको थियो। त्यसपछि उनको सदस्यता नवीकरण गरिएको थियो।

यसअघि भने भण्डारीको नवीकरण गरिएको सदस्यता वैधानिक नभएको भन्दै एमालेको केन्द्रीय कमिटी र सचिवालय बैठकले उनलाई पार्टी सदस्यता नदिने निर्णय गरेको थियो।

पार्टी नेतृत्वले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव अघि बढाएसँगै उनको एमालेमा औपचारिक राजनीतिक भूमिकाको विषय पनि अगाडि बढेको छ।