काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। प्राकृतिक विपद्का कारण कतिपय क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै दर्जनभन्दा बढी जलविद्युत् आयोजनाको उत्पादनसमेत बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीपहिरोले २२०, १३२, ३३ र ११ केभी क्षमताका प्रसारण तथा वितरण संरचनामा क्षति पुर्याएको छ। कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मा खण्डमा रहेका टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ।
त्यस्तै, कालीगण्डकी करिडोरको कुश्मा–नयाँबुटवल खण्डको प्रसारण लाइनमा फल्ट आएपछि करिडोरमा जोडिएका करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ।
बाढीका कारण १४० मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ४४ मेगावाटको सुपर मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको माथिल्लो मादी, २५ मेगावाटको अपर दोर्दी तथा २० मेगावाटको नामार्जुन मादी र मोदीलगायत जलविद्युत् आयोजनाको उत्पादन ठप्प भएको छ।
मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइनसमेत अवरुद्ध भएको छ। अवरुद्ध संरचनाको मर्मत तथा विद्युत् आपूर्ति पुनःस्थापनाका लागि प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले क्षतिको प्रारम्भिक विवरण संकलन, अवरुद्ध क्षेत्रको पहिचान तथा तत्काल मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको जानकारी दिए। उनका अनुसार उपभोक्ताको विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न प्राधिकरणले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ।
अवरुद्ध भएका स्थानमा वैकल्पिक फिडर तथा उपलब्ध अन्य संरचनामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। भारी वर्षा र सडक अवरुद्ध भएका कारण दुर्गम क्षेत्रमा प्राविधिक टोली पुग्न भने कठिनाइ भइरहेको छ।
पहुँचमार्ग खुल्नासाथ मर्मत कार्यलाई थप तीव्र बनाइने प्राधिकरणले जनाएको छ। साथै, विपद्को समयमा ढलेका पोल तथा चुँडिएका तार नजिक नजान र विद्युत्सम्बन्धी जोखिमबाट सावधानी अपनाउन प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ।

















प्रतिक्रिया