काठमाडौँ । मनाङको हिम्लुङ हिमालमा पहिरो गएपछि १० जना सम्पर्कविहीन भएको सूचना आएपछि खोजी तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ।
नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा पहिरो गएपछि आरोहणका लागि गएका १० जना सम्पर्कविहीन भएको आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।
खोजी तथा उद्धारका लागि प्रभु हेलिकप्टरमार्फत चार जना उद्धारकर्मी घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मनाङका इन्स्पेक्टर विनोद बोहराले जानकारी दिए। उनका अनुसार कैलाश हेलिकप्टरमार्फत थप तीन जना उद्धारकर्मी पठाउने तयारी भइरहेको छ।
पहिरोका कारण सम्पर्कविहीन भएका भनिएका १० जना हिमाल आरोहणका लागि गएको प्रहरीले जनाएको छ। उनीहरूको अवस्थाबारे भने यकिन विवरण प्राप्त भइसकेको छैन।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आरोहण टोलीमा नेपाली नागरिक मात्रै रहेको जानकारी आएको छ। घटनाको थप विवरण तथा क्षतिको यकिन जानकारी खोजी तथा उद्धार टोली परिचालन भएपछि आउने प्रहरीले जनाएको छ।

















प्रतिक्रिया