नवलपरासी । नारायणी नदीमा बाढी आएपछि नदीमाथिको पुरानो पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
नदीमा पानीको सतह बढेसँगै चितवन र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जोड्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणी पुलमा केही समय पूर्ण रूपमा आवागमन रोकिएको थियो। अहिले मोटरसाइकललाई भने सञ्चालन गर्न दिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी डीएसपी अनिल पण्डितले जानकारी दिए।
उनका अनुसार पुल पुरानो हुनुका साथै अत्यधिक हल्लिन थालेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर ठूला तथा अन्य सवारीसाधनको आवागमन रोकिएको हो। नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकलबाहेकका सवारीसाधनलाई गैँडाकोटमा तथा नवलपुरतर्फ जाने सवारीसाधनलाई चितवनको नारायणघाटमा रोकिएको छ।
सम्भावित दुर्घटना रोक्न पुलमा सवारीसाधन रोकेर पैदलयात्रीलाई तस्बिर तथा श्रव्यदृश्य सामग्री खिच्नसमेत रोक लगाइएको प्रहरीले जनाएको छ।
देवघाटस्थित जलमापन केन्द्रका अनुसार आइतबार दिउँसो १ः५० बजे नारायणी नदीमा पानीको सतह ११ दशमलव ९१ मिटर पुगेको थियो। केन्द्रले ७ दशमलव ३ मिटरलाई चेतावनी तह र ९ मिटरलाई खतराको तह मानेको छ। पानीको बहाव घटेपछि पुलमा पूर्ण रूपमा सवारीसाधन सञ्चालन गर्न दिइने डीएसपी पण्डितले बताए।
नारायणी नदीमा पानीको बहाव बढेपछि गैँडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत नदी तटीय क्षेत्रमा रहेका बस्तीहरूमा समेत डुबानको अवस्था सिर्जना भएको छ।

















प्रतिक्रिया