गाजा । इजरायल–हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७४ हजार नाघेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शनिबार सार्वजनिक विवरणअनुसार युद्ध सुरु भएयता ७४ हजार १६ जनाको मृत्यु भएको छ भने एक लाख ७५ हजार ६८ जना घाइते भएका छन्।
सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वका लडाकुले इजरायलमा गरेको आक्रमणपछि युद्ध सुरु भएको थियो। त्यसक्रममा करिब एक हजार २०० जनाको मृत्यु भएको र २५१ जनालाई बन्धक बनाइएको थियो।
पछिल्लो युद्धविरामले गाजामा भीषण लडाइँ केही हदसम्म रोके पनि हिंसा पूर्ण रूपमा अन्त्य भएको छैन। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता मात्रै थप एक हजार १४५ प्यालेस्टाइनीको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्ने तथ्याङ्कमा सर्वसाधारण र लडाकुको छुट्टाछुट्टै विवरण राखिएको छैन। मन्त्रालयका अनुसार कुल मृतकमध्ये करिब आधा महिला र बालबालिका रहेका छन्। संयुक्त राष्ट्रसङ्घीय निकाय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले मन्त्रालयको तथ्याङ्कलाई सामान्यतः विश्वसनीय मान्दै आएका छन्।
युद्धविरामपछि सात जना इजरायली सैनिकको समेत मृत्यु भएको जनाइएको छ। अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामका बाँकी चरणहरू कार्यान्वयन हुन नसक्दा गाजाको अवस्था अझै अनिश्चित रहेको छ।
हमासले हतियार नत्यागेको र नयाँ प्यालेस्टाइनी सरकार गठन हुन नसकेको अवस्थामा पुनर्निर्माण प्रक्रिया पनि अघि बढ्न सकेको छैन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले हतियार नबुझाएसम्म इजरायली सेना पछि नहट्ने बताउँदै आएका छन्।
यसैबीच इजरायलमा आगामी निर्वाचनलाई लिएर प्रमुख विपक्षी दलहरूबीच सहकार्यको प्रयास अघि बढेको छ। नेतान्याहुको गठबन्धनविरुद्ध चुनावी सहकार्य गर्ने प्रतिबद्धता विपक्षी दलहरूले संयुक्त विज्ञप्तिमार्फत व्यक्त गरेका छन्।
पूर्वसैन्य प्रमुख गादी आइजेनकोट, पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेट र याइर लापिड, मध्य–वामपन्थी नेता याइर गोलान तथा विपक्षी नेता एभिग्डोर लिबरम्यानको बैठकपछि संयुक्त धारणा सार्वजनिक गरिएको हो।
विपक्षी दलहरूले आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउने, भ्रामक सूचना र चरित्रहत्या गर्ने अभियानको सामना गर्ने तथा सम्भावित नयाँ सरकारका आधारभूत नीति र सिद्धान्त तय गर्न सहकार्य गर्ने बताएका छन्।


















प्रतिक्रिया