मधेशमा भारी वर्षाको कहर : ८ जिल्ला प्रभावित, एक महिलाको मृत्यु


जनकपुरधाम । अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण मधेश प्रदेशका आठवटै जिल्ला प्रभावित भएका छन् । वर्षाका कारण विभिन्न जिल्लामा घर, गोठ तथा अन्य संरचनामा क्षति पुगेको छ भने धनुषामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।

असोज ९ देखि ११ गतेसम्म पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा वर्षाजन्य घटनाबाट क्षति भएको विवरण संकलन गरिएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

धनुषाको मिथिला नगरपालिका–११ आपगामामा आइतबार बिहान घरमाथिबाट पहिरो खस्दा घर पुरिएको थियो । घरमा रहेका पाँच जनामध्ये चार जना सकुशल बाहिरिए पनि करिब ३५ वर्षीया कमला श्रेष्ठ पहिरोमा पुरिएकी थिइन् । उद्धारका क्रममा उनलाई बिहान करिब ११ः३० बजे मृत अवस्थामा निकालिएको प्रहरीले जनाएको छ ।

पर्साको ठोरी गाउँपालिका–५ आठघरे टोलमा हावाहुरीले कासिछिन स्याङ्बोको घरको टिनको छाना पूर्णरूपमा उडाएको छ । बाराको कलैया उपमहानगरपालिका–२ कबहीमा असिनासहितको हावाहुरी र वर्षाले घरमा आंशिक क्षति पुर्‍याएको छ भने बारागढी गाउँपालिका–३ बसुकापलियामा विश्वनाथ हरिजनको एकतले घर भत्किएको छ ।

रौतहटमा राजपुर, कटहरिया, मौलापुर र गरुडा लगायतका स्थानमा घर तथा गोठमा क्षति पुगेको छ । सर्लाहीका विष्णु, मलंगवा, कौडेना र चक्रघट्टा क्षेत्रमा पनि कच्ची घर तथा गोठ भत्किएका छन् ।

महोत्तरीको मनरा–शिसवा नगरपालिका–१ मा एककोठे घर भत्किएर बस्न नसक्ने भएको छ भने सम्सी गाउँपालिका–२ मा कच्ची घर पूर्णरूपमा भत्किएको छ ।

सिरहाको सिरहा नगरपालिका–६ बस्तिपट्टामा कमला नदी किनारको बाँध भत्किएको स्थानमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । करिब ५० जनाको टोलीले प्लास्टिकको बोरामा माटो भरेर बाँध संरक्षणको काम गरिरहेको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ सहित हनुमाननगर कंकालिनी नगरपालिकाका वडा नम्बर ७, ११ र १२ मा पानी पसेको छ । कोशी बाँधको दक्षिण–उत्तर क्षेत्रमा बसोबास गर्ने करिब २०० घरका आँगनमा पानी पसेको विवरण छ ।

वर्षाजन्य घटनाबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ । प्रभावित क्षेत्रमा उद्धार, सुरक्षा तथा आवश्यक व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिएको सम्बन्धित निकायले जनाएको छ ।