अक्टोबर २ मा मुम्बईमा कक्रोच पार्टीको ‘जेल भरो आन्दोलन’


काठमाडौं । भारतको कक्रोच जनता पार्टी (सीजेपी) ले निर्वाचन आयोगको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै अक्टोबर २ मा मुम्बईमा ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा गरेको छ।

सीजेपीका संस्थापक अभिजीत दीपकेले सोमबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत आन्दोलनको घोषणा गरेका हुन्। उनले सार्वजनिक गरेको पोस्टरमा अक्टोबर २ मा मुम्बईस्थित शिवाजी पार्कमा ‘जेल भरो आन्दोलन’ गर्ने उल्लेख गरिएको छ।

सीजेपीले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागलाई आन्दोलनको मुख्य एजेन्डा बनाएको छ। पार्टीले यसअघि नै मुख्य निर्वाचन आयुक्तले पदबाट राजीनामा नदिए अक्टोबर २ देखि आन्दोलन सुरु गर्ने घोषणा गरेको थियो।

यद्यपि, मुम्बईमा प्रस्तावित आन्दोलनका लागि सीजेपीले अनुमति नपाएको जनाइएको छ। आन्दोलनको अनुमति नदिएको विषयमा संस्थापक दीपकेले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्।

उनले जनताको आवाज दबाउने प्रयास स्वीकार्य नहुने बताएका छन्। सीजेपीले निर्वाचन आयोगको कामकारबाहीप्रति प्रश्न उठाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै यसअघि पनि आन्दोलनको चेतावनी दिँदै आएको थियो।

अक्टोबर २ का लागि घोषणा गरिएको ‘जेल भरो आन्दोलन’ले भारतको निर्वाचन आयोगसँग सम्बन्धित विवादलाई थप सार्वजनिक बहसमा ल्याउने देखिएको छ।