खेम सेन्चुरीको विवादित गीतबारे साइबर ब्युरोमा आज छलफल


काठमाडौँ । लोकगायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’ विवादमा परेको छ। गीतले बाहुन समुदायलाई होच्याएको भन्दै हिन्दुवादी अभियन्ताहरूले आपत्ति जनाएपछि विवाद चर्किएको हो।

गीतको विषयमा साइबर ब्युरोमा उजुरीसमेत परेको छ। हिन्दुवादी अभियन्ता सागर थापालगायतले दिएको उजुरीका आधारमा साइबर ब्युरोले मंगलबार गायक सेन्चुरी र अभियन्ताहरूलाई बोलाएर छलफल गरेको थियो।

तर, दुवै पक्षबीच भएको छलफल निष्कर्षमा पुग्न नसकेको साइबर ब्युरोका प्रवक्ता एसपी दिलीप गिरीले जानकारी दिए। उनका अनुसार उक्त विषयमा बुधबार पनि दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ।

‘हिजो दुवै पक्षसँग छलफल भएको थियो, उक्त छलफल निष्कर्षमा पुग्न सकेन। आज फेरि छलफलमा बोलाइएको छ,’ एसपी गिरीले भने।

गीतमा रहेको ‘खान्छौ कि खान्नौ बङ्गुरको मासु, लौ खाऊ न त सुँगुरको मासु’ भन्ने पंक्तिप्रति हिन्दुवादी अभियन्ताहरूले आपत्ति जनाएका छन्। उनीहरूले उक्त गीत हटाउन माग गर्दै आएका छन्।

गीतका विषयमा गायक सेन्चुरीसँग पटक–पटक सम्पर्क गर्ने प्रयास भए पनि सम्पर्क हुन सकेन। सेन्चुरीकै शब्द र संगीत रहेको उक्त गीत करिब एक महिनाअघि सार्वजनिक भएको हो। पछिल्लो समय गीत सामाजिक सञ्जालमा चर्चामा आएपछि विवादमा तानिएको हो।