पाइलटबीच कुटाकुट भएपछि फ्लाईदुबईको विमान साउदी डाइभर्ट


काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा दुई पाइलटबीच हिंसात्मक घटना भएपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरिएको छ।

सीएनएनले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला पाइलटबीच घटना भएको थियो। फ्लाइट ट्र्याकिङ तथ्यांकअनुसार करिब दुई मिनेटमै विमानको उचाइ घटेर १६ हजार ६ सय फिटसम्म पुगेको थियो।

स्थानीय समयअनुसार राति करिब १ः२० बजे घटना भएको जनाइएको छ। घटनाको करिब १२ मिनेटपछि विमानबाट आपत्कालीन संकेत पठाइएको थियो। त्यसपछि विमानको गन्तव्य परिवर्तन गरी साउदी अरेबियातर्फ मोडिएको हो।

घटनापछि विमान अपहरणमा परेको आशंका गरिए पनि इजरायली अधिकारीहरूले त्यसलाई अपहरणको घटना नभई विमानभित्रै कर्मचारीबीच भएको घटनाका रूपमा व्याख्या गरेका छन्।

आपत्कालीन संकेत प्राप्त भएपछि इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीले सुरक्षा परामर्श गरेका थिए। इजरायली रक्षा बल (आईडीएफ)का प्रवक्ताका अनुसार घटनापछि इजरायली लडाकु विमानसमेत परिचालन गरिएको थियो।

फ्लाईदुबईको विमान साउदी अरेबियामा अवतरण गर्ने तयारीमा रहेको जनाइएको छ। घटनाबारे फ्लाईदुबईको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन बाँकी रहेको समाचारमा उल्लेख छ।