काठमाडौं । बाढीमा दुई दाजु गुमाएपछि पाँच जना भतिज–भतिजीको पालनपोषण र भविष्यको चिन्तामा रहेका सोनाम घोलेको घरमै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको टोली पुगेको छ।
मन्त्रालयको पहलमा बाढीका कारण अभिभावक गुमाएका पाँचै बालबालिकालाई ‘बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना’ अन्तर्गत समेटिएको छ।
नुवाकोटमा मजदुरीका लागि पुगेका सोनामका दुई दाजु विनाशकारी बाढीपछि बेपत्ता भएका थिए। दुवै दाजुकी श्रीमतीको यसअघि नै निधन भइसकेकाले उनीहरूका पाँच सन्तान अभिभावकविहीन बनेका हुन्।
दाजुहरू गुमाएपछि पाँचै बालबालिकाको शिक्षा, पालनपोषण र भविष्यको जिम्मेवारी सोनामको काँधमा आएको थियो। आफ्नै परिवार पाल्न कठिन भइरहेका बेला पाँच बालबालिकाको भविष्य कसरी सुरक्षित गर्ने भन्ने चिन्तामा रहेका सोनामलाई मन्त्रालयको टोलीले घरमै पुगेर आवश्यक जानकारी लिएको हो।
बालबालिकालाई सरकारले सञ्चालन गरेको अस्थायी संरक्षण केन्द्रमा लगेर आवश्यक मनोसामाजिक परामर्श तथा संरक्षण सेवा पनि प्रदान गरिएको मन्त्रालयले जनाएको छ।
योजनाअन्तर्गत अब पाँचै बालबालिकाको १८ वर्षको उमेरसम्म शिक्षा, पालनपोषण तथा आवश्यक हेरचाहको व्यवस्था गरिनेछ। बालबालिकाको संरक्षणलाई तत्कालीन राहतमा मात्र सीमित नराखी दीर्घकालीन शिक्षा, विकास र भविष्य सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो।
मन्त्रालयको पहलमा आर्थिक सहयोग गर्ने MITGF का प्रतिनिधि तथा राष्ट्रिय बाल अधिकार परिषद्का कर्मचारी सोनामको घरमै पुगेर आवश्यक प्रक्रिया पूरा गरी बालबालिकालाई कार्यक्रममा आबद्ध गरेका छन्।
दुई दाजु गुमाएपछि पाँच बालबालिकाको भविष्यको चिन्तामा रहेका सोनामले राज्यले दीर्घकालीन स्याहारको जिम्मेवारी लिएपछि आफूलाई ठूलो राहत मिलेको बताएका छन्।






















प्रतिक्रिया