काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले प्रेस काउन्सिल नेपालका अध्यक्षलाई धम्की दिएको भन्दै पत्रकार महासङ्घका केही नेताप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद खत्रीले प्रेस काउन्सिलका अध्यक्षलाई ‘झ्यालबाट टिपेर फ्याँक्ने’ भन्दै धम्की दिएको दाबी गर्दै यस्तो भाषा प्रयोग गर्ने व्यक्ति पत्रकार हुन् कि गुण्डा ? भन्दै प्रश्न गरे।
उनले पत्रकारिताको नाममा कसैलाई पनि मनपरी गर्ने छुट नभएको बताए। ‘पत्रकारको नाममा कसैलाई पनि असनको साँढे बन्ने छुट हुँदैन,’ उनले भने।
सांसद खत्रीले श्रमजीवी पत्रकारले तलब नपाउँदा आवाज नउठाउने तर सञ्चार गृहका मालिकले सरकारी विज्ञापन कम पाएको विषयमा धम्कीपूर्ण भाषा प्रयोग गर्ने प्रवृत्तिको आलोचना गरे। उनले त्यस्ता व्यक्ति पत्रकारका नेता नभई श्रमजीवी पत्रकारका ‘दुस्मन’ भएको टिप्पणी गरे।
सरकारी विज्ञापन वितरणमा हुने अनियमितता र भ्रष्टाचार रोक्नुपर्नेमा जोड दिँदै खत्रीले सञ्चार गृह सञ्चालनका लागि सरकारी विज्ञापनमा मात्र निर्भर रहने अवस्था अन्त्य हुनुपर्ने बताए। उनका अनुसार सञ्चार क्षेत्रमा लगानी गर्नेहरूले आफ्नो मिडियाको आर्थिक तथा व्यावसायिक भविष्यबारे समेत सोच्न आवश्यक छ।
उनले भने, ‘सरकारले विज्ञापन दिन्छ अनि सञ्चार उद्योग चलाउँछु भन्ने हुँदैन। सरकारी विज्ञापनमा हुने वार्षिक करोडौँको भ्रष्टाचार रोक्नैपर्छ।’
सांसद खत्रीले पत्रकार महासङ्घजस्तो स्वतन्त्र र निष्पक्ष रहनुपर्ने संस्थाका नेतृत्वले राजनीतिक दलसँग निकट भएर धम्कीपूर्ण तथा आपत्तिजनक भाषा प्रयोग गर्न नहुने धारणा राखे।
उनले तीनै तहका सरकारलाई खबरदारी गर्न पत्रकारहरू स्वतन्त्र, निष्पक्ष र श्रमजीवी पत्रकारिताको पक्षमा उभिनुपर्नेमा जोड दिए।






















प्रतिक्रिया